तिहारमा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकले तिहारका बिदाका बीच पनि देशको आर्थिक गतिविधि र आपूर्ति प्रणाली प्रभावित नहोस् भन्दै बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिनहरूमा सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
केन्द्रीय बैंकले क, ख र ग वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूसँग पत्राचार गर्दै भन्सार जाँचपास, आयात–निर्यात तथा आपूर्ति व्यवस्थापनमा सहजता ल्याउनका लागि बैंकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको हो।
राष्ट्र बैंकका अनुसार, देशको वित्तीय प्रवाह अबरुद्ध नहोस् भन्ने उद्देश्यले शनिबारका लागि पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालनमा राखिएको छ। यो प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ।
आरटीजीएस प्रणाली सञ्चालनमा रहँदा ठूला मूल्यका कारोबारहरू तत्काल निस्पादन गर्न सकिने भएकाले आयात–निर्यात तथा अन्य व्यावसायिक कारोबारमा सहजता आउने अपेक्षा गरिएको छ।













