काठमाडौंका पाँच क्षेत्र दुई महिनासम्म निषेधित घोषणा, प्रदर्शन र जुलुस गर्न प्रतिबन्ध

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौंका पाँच क्षेत्र दुई महिनासम्म निषेधित घोषणा, प्रदर्शन र जुलुस गर्न प्रतिबन्ध

काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले राजधानीका पाँच महत्वपूर्ण क्षेत्रमा भेला, प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न दुई महिनासम्मका लागि प्रतिबन्ध लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशअनुसार राष्ट्रपति कार्यालय शीतल निवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार परिसरलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।

आदेशअनुसार ती क्षेत्रहरूमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला भई कुनै पनि किसिमको विरोध, अनसन, घेराउ, प्रदर्शन वा सभा आयोजना गर्न पाइने छैन।

प्रशासनले विरोध प्रदर्शनका क्रममा भीडबाट तोडफोड, आगजनी वा अन्य अवाञ्छित गतिविधि हुन सक्ने सम्भावनाका कारण निषेध आदेश जारी गरिएको जनाएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ () () बमोजिम जारी आदेश आजदेखि लागू हुने र आगामी दुई महिनासम्म कायम रहने जनाइएको छ।

आदेशअनुसार राष्ट्रपतिको शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपतिकाे कार्यालय हरित गृह लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय क्षेत्र, सिंहदरबार परिसर तथा प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रलाई पूर्ण रूपमा निषेधित क्षेत्रका रूपमा निर्धारण गरिएको छ।

सिंहदरबार क्षेत्रअन्तर्गत भद्रकाली मन्दिरदेखि सिंहदरबार मूलगेट, सर्वोच्च अदालत, पुरातत्व विभाग र हनुमानस्थान मन्दिर आसपासका सडकसम्म भेला र प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। त्यसैगरी बालुवाटार क्षेत्रमा प्रधानमन्त्री निवास, राष्ट्र बैंक चोकदेखि पूर्वतर्फका १०० मिटरभित्र कुनै पनि किसिमको विरोध कार्यक्रम निषेध गरिएको छ।

काठमाडौं प्रशासनले सुरक्षा र सार्वजनिक शान्तिका दृष्टिले आदेश जारी गरिएको बताएको छ।