प्रधानमन्त्री कार्कीको पहलमा चुनावी संवाद सुरु, दलहरूसँग छलफल तिव्र
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउन प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवाद सुरु गरेकी छिन्। लामो समयदेखि जेनजी आन्दोलनका कारण स्थगित भएको राजनीतिक सहमतिको प्रक्रिया अब प्रधानमन्त्रीकै पहलमा पुनः सक्रिय बनेको छ।
शुक्रबार साँझ उनले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग बालुवाटारमा भेटवार्ता गरिन्। भेटमा प्रधानमन्त्रीले जसरी भए पनि चुनाव सम्पन्न गर्न सरकार दृढ छ भन्दै त्यसका लागि सबै दलहरूको सहकार्य आवश्यक भएको धारणा राखिन्।
माओवादी नेताहरूले सरकारको निर्णयप्रति समर्थन जनाउँदै चुनावी वातावरण सुदृढ बनाउन ठोस कदम चाल्न सुझाव दिएका छन्। जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग बिहीबार पहिलो चरणको वार्ता सम्पन्न गरेपछि प्रधानमन्त्रीले अब दलहरूसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय लिएकी हुन्।
देशभर बढ्दो असुरक्षा र प्रहरीको मनोबल कमजोर भएको कारण दलहरूले निर्वाचन सुरक्षाप्रति चिन्ता जनाइरहेका छन्। गत साता राष्ट्रपतिद्वारा आह्वान गरिएको सर्वदलीय बैठकमा पनि यही विषय प्रमुख बनेको थियो।
त्यसपछि प्रधानमन्त्री र गृहमन्त्रीले सुरक्षा अवस्था सुधार गर्ने प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्री कार्कीले सबै दलका शीर्ष नेताहरूसँग क्रमशः भेटवार्ता गर्ने तालिका रहेको बताइएको छ ।













