नेपालले आईसीसी टि–२० विश्वकप छनोट उपाधि जित्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सामोआ विरुद्धको उत्कृष्ट प्रदर्शनपछि नेपालले आईसीसी टि–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि हात पारेको छ।
शुक्रबार ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको अन्तिम खेलमा नेपालले सामोआलाई १ सय २४ रनले पराजित गर्दै अपराजित रूपमा उपाधि जितेको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रनको विशाल योगफल तयार गरेको थियो। नेपालका ओपनर आशिफ शेखले ४१ बलमा ६९ रनको दमदार पारी खेलेका थिए।
उनले ७ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै मिडिल अर्डर ब्याटर दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए। ऐरीले पनि ४ छक्का र २ चौका प्रहार गर्दै टोलीलाई बलियो स्थिति दिलाएका थिए।
२ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा सामोआको टोली निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमा समेटियो। नेपालका ललीतनारायण राजवंशीले सर्वाधिक ३ विकेट लिए।
यसअघि सामोआले टस जितेर बलिङ रोजेको थियो। नेपालले त्यस अवसरलाई पूर्ण रूपमा सदुपयोग गर्दै प्रतियोगितामा आफ्नो प्रभुत्व कायम राख्यो।
सुपर सिक्स चरणमा नेपालले ओमानलाई ३८ रन, कतारलाई ५ रन र यूएईलाई १ रनले पराजित गरेको थियो। समूह चरणमा नेपालले जापानलाई ५ विकेट र कुवेतलाई ५८ रनले हराएको थियो।
अपराजित रहँदै उपाधि हात पार्दै नेपालले विश्वकपका लागि आफ्नो तयारी र क्षमता दुवै सशक्त रूपमा प्रदर्शन गरेको छ।













