नेपाली सेनाको स्पष्टीकरण: स्थिति अत्यन्त तनावपूर्ण थियो, डेटा सेन्टर जोगाउन सफल भयौ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जनजी आन्दोलनको क्रममा भदौ २४ गते सिंहदरबारमा भएको आगजनी र अराजक घटनाबारे नेपाली सेनाले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो धारणा राखेको छ। शुक्रबार एक पत्रकार सम्मेलनमार्फत युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले उक्त दिनको परिस्थितिबारे प्रष्ट पार्दै सेनाको कारबाही 'दुरुस्त र सटीक' रहेको दाबी गरे।
उनका अनुसार आन्दोलनका क्रममा सिंहदरबार क्षेत्रमा अत्यन्तै तनावपूर्ण अवस्था सिर्जना भएको थियो। ‘सिंहदरबार लगायतका संरचनाबारे उठेका प्रश्नहरू वैध छन्, तर तत्कालीन परिस्थितिमा सेनाले आवश्यक कदम चालेको थियो,’ थापाले भने।
थापाका अनुसार भिड नियन्त्रणका क्रममा सेनाले ४६ राउन्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको जानकारी दिए । ‘दुई पटक सिंहदरबार प्रवेश गर्न खोज्ने प्रयास भएको थियो, तर सेनाले ती समूहलाई फर्काएको हो,’ उनले स्पष्ट पारे। उनले कुनै पनि नागरिकमाथि प्रत्यक्ष आक्रमण नगरिएको र सेनाले कम घातक उपायहरू मात्र प्रयोग गरेको बताए।
उपरथी थापाले आगलागीका बेला सेनाले सिंहदरबारभित्र रहेका तीन प्रमुख संरचना राष्ट्र सुरक्षा परिषद, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई प्राथमिकता दिएर सुरक्षा सुनिश्चित गरेको बताए। ‘हामीले बुझेका थियौं, यी संरचनाहरू सुरक्षित भए सरकारको मेरूदण्ड जोगिन्छ। विशेषगरी अर्थ मन्त्रालयको डेटा सेन्टर जोगाउन सफल हुनु ठूलो उपलब्धि हो,’ उनले भने।
उनका अनुसार डेटा सेन्टर जलेको भए, केही दिनभित्रै सम्पूर्ण सरकारी सेवा प्रणाली ठप्प हुने खतरा थियो। थापाले सेनाका जवान र दमकल टोलीले निरन्तर प्रयास गरेर आगो नियन्त्रणमा लिएको समेत जानकारी दिए। सेनाले यस्ता घटनाहरू भविष्यमा नदोहोरियोस् भनेर सुरक्षा रणनीति अझ कडा बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।













