ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव (पूर्णपाठ सहित)
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको नेतृत्व सहज ढंगले हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा ‘आजको संकट र पार्टी पुनर्गठन’ विषयमा धारणा राख्दै उनले नेतृत्व हस्तान्तरणलाई पार्टी पुनर्गठनको एक महत्त्वपूर्ण आयाम भएको बताएका हुन्।
भट्टराईले मुलुकमा उत्पन्न असामान्य परिस्थिति, आम जनताको अपेक्षा र पार्टीभित्रको बदलिँदो मनोविज्ञानलाई मध्यनजर गर्दै अबको आवश्यकता नयाँ नेतृत्व रहेको बताएका छन्। उनले विगतमा अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बनाउने सन्देश प्रवाह गरिए पनि अहिले त्यो धारणा पुनर्विचारयोग्य भएको बताएका छन्।
सचिव भट्टराईले नेतृत्व हस्तान्तरणका लागि दुईवटा स्पष्ट विकल्प प्रस्तुत गरेका छन्। पहिलो, पार्टीका वरिष्ठ नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिई आगामी महाधिवेशनमार्फत सहमति वा प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गर्ने। दोस्रो, ओलीकै नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने तर त्यसअघि नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्ने।
‘यीमध्ये कुन बाटो रोज्ने भन्ने निर्णय अध्यक्ष कमरेडको अन्तरआत्माले गर्ने हो’, उनले लेखित धारणा मार्फत बैठकमा बताएका छन्।













