कीर्तिपुर क्रिकेट रङ्गशालाको अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने गुरुयोजना स्वीकृत
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको मैदानका रूपमा विकास गर्न गुरुयोजना स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्ताव अनुसार रङ्गशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरेको छ।
गुरुयोजना अनुसार रङ्गशाला निर्माणमा करिब १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले यो रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान भएकाले यसको आधुनिकीकरण र विस्तारले देशको खेलकुद, पर्यटन र अन्तर्राष्ट्रिय पहिचानमा महत्वपूर्ण योगदान दिने बताए।
उनले भने, “अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधा सम्पन्न रङ्गशाला आवश्यक भएकाले गुरुयोजना अनुसार स्रोत सुनिश्चित गरी निर्माण कार्य अघि बढाउने निर्णय भएको हो।”
मन्त्रिपरिषद्ले गुरुयोजना अनुसार जग्गा सम्बन्धी सम्झौता गर्न, वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम गर्न र दोस्रो चरणको निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गर्न स्वीकृति दिएको छ। केही दिनअघि मन्त्री घिसिङले कीर्तिपुरस्थित निर्माण स्थलमा निरीक्षण गरेका थिए र कामलाई राष्ट्रिय प्राथमिकतामा राखेर बजेट अभाव नहोस् भनी प्रतिबद्धता जनाएका छन्।
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट सङ्घबीचको कीर्तिपुर मैदान प्रयोगसम्बन्धी जग्गा सम्झौता आगामी वर्ष वैशाखमा सकिँदैछ। यसलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले त्रिवि र युवा तथा खेलकुद मन्त्रालयबीच दीर्घकालीन सम्झौता गर्न निर्देशन दिएको छ, जसले मैदानलाई खेलकुद प्रयोजनका लागि सुरक्षित बनाउनेछ।
हाल रङ्गशालाको पहिलो चरणको निर्माणाधीन संरचना निर्माण भइरहेको छ। मन्त्रालयले आगामी मङ्सिरदेखि सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) अघि निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।













