नेप्सेमा गिरावट, कारोबार ३ अर्ब नाघ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा गिरावट देखिएको छ। आज नेप्से १८.४० अंकले घट्दै २४८७.१७ विन्दुमा झरेको हो। सूचकमा गिरावट आएसँगै अधिकांश कारोबार भएका समूहहरू समेत नकारात्मक देखिएका छन्।
आज कुल ३ अर्ब १९ करोड ६२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। ३०९ वटा स्क्रिपको ७५ लाखभन्दा बढी कित्ता सेयर ३५ हजार ८३७ वटा कारोबारमार्फत खरिदबिक्री भएका छन्। कारोबारको आकार हेर्दा लगानीकर्ताको सक्रियता कायम रहे पनि बजारमा दबाब देखिएको छ।
मूल्यको उतारचढावको आधारमा आज ३७ वटा कम्पनीका सेयरमूल्यमा वृद्धि भएको छ भने २०४ कम्पनीका सेयर घटेका छन्। त्यस्तै ८ कम्पनीका सेयरमूल्य स्थिर रहे। समूहगत रूपमा विश्लेषण गर्दा बैंकिङ र म्युचुअल फण्ड समूहमा सामान्य सुधार देखिएको छ भने बाँकी समूहहरूमा गिरावट आएको छ। अन्य समूह सबैभन्दा धेरै प्रभावित भएको छ।
कम्पनीगत प्रदर्शनतर्फ हेर्दा आज हिमालयन पावर पार्टनरले ९.९३ प्रतिशतले सेयरमूल्य वृद्धि गर्दै सबैभन्दा धेरै लाभ कमाएको छ। समाज लघुवित्त नकारात्मक सर्किट हिट हुँदै सबैभन्दा धेरै मूल्य गुमाउने कम्पनी बनेको छ । सर्वाधिक कारोबार गर्ने कम्पनीमा मुक्तिनाथ विकास बैंक अगाडि देखिएको छ।
उक्त बैंकको १५ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ६४ लाख, शिवम् सिमेन्टको ११ करोड २६ लाख र हिमालयन रिइन्स्योरेन्सको ९ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।













