राष्ट्रपति समक्ष दुई संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रपति समक्ष दुई संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई संवैधानिक आयोगले आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदनहरू पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित अलग–अलग कार्यक्रममार्फत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र थारू आयोगका कार्यवाहक अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गरेका हुन्।

पहिलो कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले आफ्नो आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरे। कार्यक्रममा राष्ट्रपति पौडेलले आयोगले गरेका कार्यहरू, उपलब्धिहरू र सुधारका सिफारिसप्रति चासो व्यक्त गर्नुका साथै प्रतिवेदनमा उठाइएका विषयहरू नीति निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरे । 

त्यसपछि आयोजित दोस्रो कार्यक्रममा थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारूले समेत आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरे। राष्ट्रपति पौडेलले प्रस्तुत प्रतिवेदनहरूमा समावेश सुझाव तथा सिफारिसहरूले सुशासन प्रवर्धन, समावेशी नीति निर्माण, तथा आर्थिक स्रोतको न्यायसंगत बाँडफाँडमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।