देव गुरुङको आरोप : सरकारले निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने वातावरण बनाउन असफल भएको आरोप लगाएका छन्। बिहीबार निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले सरकारले दलहरूलाई विश्वासमा लिन नचाहेको र प्रतिशोधको राजनीतिमा लागिरहेको टिप्पणी गरे।
उनका अनुसार सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने मुख्य जिम्मेवारी पूरा गरेको छैन, बरु राजनीतिक दलहरूविरुद्ध बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउनेजस्ता गतिविधि अघि बढाइरहेको छ।
यस्ता कार्यले आम निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुनेमा गम्भीर आशंका पैदा गरेको उनले बताए। गुरुङले निर्वाचन आयोगको तयारीप्रति आस्था राखेपनि सरकारको भूमिका अझै स्पष्ट नदेखिएको बताए। उनले राष्ट्रपति कार्यालयमा केही संवाद भएको स्वीकार गरे पनि त्यो अपुग रहेको बताए।
साथै, सरकारले भयमुक्त वातावरण सिर्जना गरेर सबै दललाई समान अवसर दिनुपर्ने र शान्तिसुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। वर्तमान अवस्थामा निर्वाचन निष्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न हुन्छ भन्नेमा आफूहरू सशंकित रहेको उनले स्पष्ट पारे।













