मधेश प्रदेशका सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

User Image Prime TV News एक महिना अगाडि
Image of मधेश प्रदेशका सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेशका सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रदेश संसदीय विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारले उल्लेख गरेको आरोपपत्रमा सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल रकमको २८ प्रतिशत अर्थात् ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरिएको छ। साथै सोही रकम बराबरको बिगो पनि माग गरिएको छ।

मुद्दामा संलग्न रहेका उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षहरूमा धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवी, निर्माण उपभोक्ता समितिका अध्यक्ष योगिन्द्र महतो र कोषाध्यक्ष सुनयना कुमारी रहेका छन्।

साथै अधुरो कमलामाई मन्दिर र मालतमाई स्थानको कम्पाउन्ड वाल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामानाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवी पनि अभियुक्तहरूमा छन्।

त्यस्तै, माईस्थान मन्दिर सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष विभा देवी खत्वे, कञ्जनियमाई मन्दिर सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेशकुमारी, देवी महारानी सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष दिपराज देवी राजपूत र कोषाध्यक्ष भिखारी राउत कुर्मी पनि मुद्दामा समावेश छन्।

लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्रकुमार झा, शम्भुकुमार मण्डल र मञ्जुदेवी पासमान पनि अभियुक्त हुन्।