कांग्रेस केन्द्रीय समिति बैठक, ८ वटा एजेन्डामा छलफल हुँदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। दिउँसो १ बजेबाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमदेखि पार्टी संगठनका महत्वपूर्ण विषयहरूमा छलफल भइरहेको छ।
बैठकका लागि पार्टीले ८ बुँदे कार्यसूची तय गरेको छ। तीमध्ये जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रम, पार्टीको १५औँ महाधिवेशन, प्रतिनिधिसभा विघटनको सम्भावना र निर्वाचनको तयारी, तोडफोडबाट क्षति पुगेको पार्टी कार्यालयको पुनर्निर्माण, देशभरको शान्ति सुरक्षा अवस्था, प्राकृतिक विपद्, क्षतिपूर्ति तथा पुनर्निर्माण, साथै पार्टी संगठनभित्रका समन्वय र रणनीतिक निर्णयहरू मुख्य विषय रहेका छन् ।
बैठकको एउटा मुख्य चासोको विषय १५औँ महाधिवेशनको स्वरूप हो। पार्टीभित्र यस विषयमा स्पष्ट मतभेद देखिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहितको इतर समूहले मंसिरमा नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्।
यता संस्थापन पक्ष भने समय अभावका कारण मंसिरमा कुनै पनि प्रकारको महाधिवेशन सम्भव नभएको भन्दै अडान राख्दै आएको छ ।













