भारतले रुसबाट तेल आयात रोक्ने आश्वासन दिएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

User Image Prime TV News एक महिना अगाडि
Image of भारतले रुसबाट तेल आयात रोक्ने आश्वासन दिएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल आयात रोक्ने आश्वासन दिएको बताएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मोदी मेरा मित्र हुन्, हाम्रो राम्रो सम्बन्ध छ। तर म भारतले रुसबाट तेल किनिरहेकोमा असन्तुष्ट थिएँ, किनभने त्यसले पुटिनको मूर्ख युद्धलाई निरन्तरता दिन सहयोग पुर्‍यायो। उनले आज मलाई आश्वासन दिएका छन् कि भारतले अब रुसबाट तेल किन्ने छैन। यो ठूलो कदम हो,” ट्रम्पले भने।

ट्रम्पले यसअघि महिनौँदेखि भारतलाई रुसबाट सस्तो तेल खरिद बन्द गर्न दबाब दिँदै आएका थिए। उनले अगस्ट महिनामा भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, जसलाई उनले रुसबाट तेल र ग्यास खरिद गर्ने दण्डस्वरूप भनेका थिए।

बुधबारको पत्रकार सम्मेलनमा ट्रम्पले मोदीलाईमहान व्यक्तिभन्दै प्रशंसा गरे र थपे, “उनीहरूले अब रुसबाट तेल किन्ने छैनन्, त्यो प्रक्रिया सुरु भइसकेको छ र चाँडै पूरा हुनेछ।

ट्रम्पले भारतको यो कदमले युक्रेन युद्धको अन्त्यमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। भारत रुसको प्रमुख तेल खरिदकर्ता देशमध्ये एक हो र उसको विशाल जनसंख्या र तीव्र आर्थिक वृद्धिका कारण ऊ विश्वकै तेस्रो ठूलो तेल उपभोक्ता बनेको छ।

भारतको उपभोग दर तीव्र गतिमा बढ्दै गएकाले सन् २०३० सम्ममा उसले चीनलाई समेत उछिन्ने अनुमान गरिएको छ। यदि भारतले साँच्चै रुसबाट तेल किन्ने बन्द गर्‍यो भने, यो कदमले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ।