ओमनलाई ३८ रनले हराउँदै नेपाल शीर्ष स्थानमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर–सिक्स चरणमा नेपालले घरेलु टोली ओमनलाई ३८ रनले पराजित गरेको छ । यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको प्रतिस्पर्धात्मक योगफल बनायो । ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा ६८ रनको अर्धशतकीय इनिङ खेले ।
उनको साथमा आसिफ शेखले २४ रन जोडे भने अन्य ब्याटरहरू निराशजनक रहे । कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी २, कुशल मल्ल ७, आदिल आलम १६, नन्दन यादव ९ र गुल्सन झा १८ रनमा आउट भए । सोमपाल कामी १ रनमा अविजित रहे ।
१५२ रनको लक्ष्य पछ्याएको ओमनले नेपाली बलरहरूको सानदार बलिङका कारण २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।
ओमनका विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । नेपालका तर्फबाट गुल्सन झाले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २–२ विकेट झारे । सन्दीप लामिछानेले पनि एक विकेट हात पारे ।













